काठमाडौ, वैशाख १ –
पोखरामै रहेर मगर भाषाको साहित्य साधना गर्ने फूलकुमारी थापा मगर बिहीबार त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा उज्यालो अनुहारमा थिइन्, पुरस्कारभन्दा पनि पहिचानका लागि साहित्य साधना गर्दै आएकी यी प्रथम महिला मगर उपन्यासकारले ३० हजार रुपैयाँको जीबसिम साहित्य पुरस्कार थापिन् र बिहीबारै पोखरा फर्किइन् ।

‘मोफसलमा बस्ने त्यही पनि मातृभाषी स्रष्टा’ जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले दिएको पुरस्कार थापेर पोखरा फर्किनुअघि उनले भनिन्, ‘यस्ता पुरस्कारले पक्कै पनि भावीलेखनलाई हौस्याउँछ ।’ ‘इटन लेसा मास्टोकुङ कथा र व्यथा’ (यस्तै रहेछ महिलाहरूको कथा र व्यथा) उपन्यासका लागि पुरस्कार थापेकी उनी फुटकर कथा र कविता पनि लेख्छिन् ।अठार मगर भाषामा ‘ङा ङकस्टला यम्र’ (संघर्षका दिनहरू) कविता कृतिकी लेखिका इर्धासी झाँक्रीले चाहिँ ५ हजार रुपैयाँका जीबसिम नवप्रतिभा साहित्य पुरस्कार थापिन् । यो पुरस्कार मगर साहित्य संरक्षणको ध्येयसाथ मगर आदिकवि जीतबहादुर सिंजालीको नाममा बेलायत निवासी दुतबहादुर गर्बुजा पुन मगरले स्थापना गरेका हुन् । फुटकर कथा र कवितामा समेत कलम चलाइरहेकी झाँक्री पत्रकारितामा समेत संलग्न छिन् ।

दुवैलाई श्रम, यातायात तथा व्यवस्थापन मन्त्री एमएस थापा मगरले पुरस्कार हस्तान्तरण गरे । मगर महिला संघका अध्यक्ष गंगा खासु मगर, मगर संघ तथा अठार मगर भाषा उपाध्यक्ष कर्ण मगर, नेपाल प्रज्ञा प्रतिष्ठान भाषा विभाग प्रमुख प्राज्ञ सुलोचना मानन्धर, प्राज्ञ माया ठकुरी, मगर विद्यार्थी संघका अध्यक्ष रेनुका काउचा मगरले पुरस्कृतद्वयको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए । मगर स्रष्टालाई हौस्याउन हरेक वर्ष पुरस्कारमा ५ हजार रुपैयाँ थप्दै जाने प्रतिष्ठानका अध्यक्ष संजोग लाफा मगरले बताए ।

Thank you for signing up!